सिस्नुपानी मकवानपुरले गर्नेभयो खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता



सिस्नुपानी नेपाल मकवानपुरले सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । यही बैशाख १८ गतेसम्म कविता पठाउन सकिने तथा बैशाख २२ गते शुक्रबार हेटौंडामा हुने छ ।  प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को विशेष प्रवर्द्धनमा आयोजना हुन लागेको हो ।

साहित्य पोस्टसँगको सहकार्य रहने यस प्रतियोगितामा देशभरका कविहरूले भाग लिन सक्ने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो । समाजमा हुने गरेका विकृति र विसंगतीविरुद्ध साहित्य सिर्जनामार्फत् सुधारका लागि दबाब दिन सकिने उन्नत समाज स्थापनातर्फ सदैव जोड गर्नका लागि हास्यव्यङ्ग्य साहित्यको उल्लेख्य भूमिका रहेकोले यसको उन्नयन नै उद्देश्य रहेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले बताउनु भयो । प्रतियोगितामा कविता २५० शब्दभित्र रहनेगरी तथा अन्य अप्रकाशित हास्यव्यङ्ग्य रचना मात्रै समावेश गरिनेछ । इमेल पठाउनका लागि sisnupanimakwanpur@gmail.com मा पठाउन सकिने तथा किताबघर भैरव रोड हेटौंडामा पठाउन सकिने जानकारी आयोजक टिमले दिएको छ । विजेतालाई पहिलो पुरस्कार नगद रु. १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार तथा सान्त्वना २ जनालाई ३/३ हजार नगद पुरस्कार दिइने छ । कविता बैशाख १८ गते बेलुका ५:०० बजेसम्म पठाइसक्नु पर्ने संप्रस पौडेलले जानकारी दिनुभयो ।

सिस्नुपानी मकवानपुरले आफ्नो स्थापना दिवस, भैरव जयन्ति, गाइजात्रा लगायतका आफ्नै घोषित कार्यक्रम र विभिन्न संस्थाहरूका साहित्यिक कार्यक्रममा सक्रिय रुपमा सहभागिता जनाइरहेको छ । सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले भन्नुभयो- उपत्यका बाहिर सिस्नुपानी नेपालको एकमात्र प्रभावशाली शाखा हेटौँडाले हास्यव्यङ्ग्य साहित्यको विकास र प्रवर्द्धनका लागि पुरस्कार स्थापनादेखि निरन्तर अनेक कार्यक्रमहरू आयोजना गर्दै आएको र हाल आकर्षक नगद पुरस्कारसहित राष्ट्रव्यापी हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गरेर थप उचाइ प्राप्त गरेको छ । हास्यव्यङ्ग्यमा पुराना पुस्तालाई सम्मान र नयाँपुस्तालाई आकर्षण गर्नमा सिस्नुपानी हेटौँडाको अनुकरणीय योगदान रहँदै आएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.