सल्यान दार्मा गापा अध्यक्ष सहित शिक्षकहरुको टोली जनप्रिय मावि हेटौंडामा
0
April 19, 2023
वागमती प्रदेशको राजधानी हेटौंडामा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा सल्यान जिल्लाको दार्मा गाउँपालिका अध्यक्ष सहितको शिक्षक टोली अवलोकनका लागि विद्यालय आईपुगेको छ । गाउँपालिका सामाजिक विकास संयोजक पुष्पाञ्जली राना, शिक्षा प्रमुख सोम प्रसाद पाण्डे, जनज्योति माविका प्रधानाध्यापक मीनराज वली लगायतको करिव ५० जनाको टोलीले जनप्रिय माविको शैक्षिक अवलोकन भ्रमण गरेको हो ।
प्रधानाध्यापक भुपेन्द्र चौलागाई सहितको टोलीले स्वागत गरेको कार्यक्रममा सल्यान जिल्ला दार्मा गाउँपालिका र हेटौंडा उपमहानगरपालिका बीचको शैक्षिक अभ्यासहरु आदानप्रदान भएको थियो । देशकै शैक्षिक अवलोकनको गन्तव्य बन्दै गरेको जनप्रिय माविमा दैनिक नै देशका थुप्रै विद्यालयबाट अवलोकन भ्रमणका लागि आउनेगरेको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । विशेषगरी गणित विषय प्रयोगशाला, सामुदायिक विद्यालय अन्तर्गत देशकै पहिलो मिडिया कक्ष र पढ्दै कमाउँदै कार्यक्रम विद्यालयको उत्कृष्ठ कार्य रहेको भ्रमणका क्रममा दार्मा गापा अध्यक्ष चन्द्र बहादुर वलीले बताउनुभयो । दार्मा गाउँपालिका शिक्षा प्रमुख रोम प्रसाद पाण्डेले जनप्रिय मावि हरेक हिसावले उत्कृष्ठ रहेछ । यो अभ्यास कति सकिन्छ गाउँपालिकाका शिक्षा क्षेत्रमा लगानी गरिने छ यसर्थ भ्रमण उपलव्धीमूलक रहेको छ भन्ने टिप्पणी व्यक्त गर्नुभयो । दार्मा गाउँपालिका सामाजिक विकास संयोजक पुष्पाञ्जली राना मगरले पनि हामी यस विद्यालयमा आउन किन ढिला गरेछौं भन्दै विद्यालयको प्रशंसा गरेको जनप्रिय माविका शिक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच आज नै मकवानपुरको हेटौडा ९ मा रहेको प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित करिव ४० जनाको टोलीले पनि जनप्रिय माविमा शैक्षिक अवलोकन भ्रमण गरेको छ । देशभरकै शैक्षिक गन्तव्य रहेको जनप्रिय माविमा आफूहरु आउन ढिलाइ भएको प्रधानाध्यापले बताउँदै दुई विद्यालयबीच सहयोगात्मक सम्वन्ध रहनुपर्नेमा जोड दिनुभयो ।
मिडिया विभाग संयोजक सुनिल गौतमले सहजीकरण गर्नुभएको कार्यक्रममा विद्यालयका तर्फबाट सहायक प्रधानाध्यापक रामआशिष मण्डल,शिक्षकहरु नीर बहादुर खड्का, रविन श्रेष्ठ, बिष्णुहरि गौतम, अनिल सापकोटा, संप्रस पौडेल, राजन तिमल्सेना लगायतको सहजीकरण रहेको थियो ।
