जनप्रियमा भयो फेरि निर्वाचन




हेटौंडा-१६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा सदन क्याप्टेन तथा उपक्याप्टेनको निर्वाचन आज सम्पन्न भएकाे छ । मत गणनाको प्रत्यक्ष अपडेट दिइँदै गरिएको सो निर्वाचनमा आम निर्वाचनको झल्को दिइएको थियो ।

शुक्रबार भएको सो निर्वाचनमा चारवटा सदनका ४ वटा निर्वाचन बुथ कायम गरिएको थियो । चारवटा सदनका ४ हाउस क्याप्टेन तथा ८ जना उपक्याप्टेन चुनिएका हुन् । जसमध्ये सर्वाधिक १०८ मत प्राप्त गर्ने कक्षा १० की सुरक्षा घिमिरे रातो सदनकी क्याप्टेन चुनिएकी हुन् । यस्तै १०५ मत प्राप्त गरी कक्षा १० का अनुसन्धान चापागाईँ र सञ्जना थापा साेही सदनका उपक्याप्टेन चुनिए भने प्राविधिकतर्फबाट आमोस राई निलो सदनको क्याप्टेन तथा मधुकुमारी ठाकुर सोही सदनकी उपक्याप्टेन चुनिएकी हुन् । हरियो सदनतर्फ क्याप्टेनमा अंग्रेजी माध्यम कक्षा १० मा अध्ययनरत उज्वल काेईराला र उपक्याप्टेनमा सुशील भट्टराई तथा अनिष गुरुङ विजयी भएका हुन् । पहेंलाे सदन तर्फ भने नेपाली माध्यमबाट अरुण मिश्र क्याप्टेन तथा निरज बलामी र करिस्ता दाहाल उपक्याप्टेन चुनिँदा मिश्रले ६६ र बलामीले १०३ तथा दाहालले ५२ मत प्राप्त गरेका थिए ।

विद्यालय तहबाटै नेतृत्व विकास तथा सामाजिक विषयमा अध्ययन गर्नुपर्ने निर्वाचन तथा संघीय व्यवस्था सम्बन्धी व्यवहारिक ज्ञान हासिल गराउनका लागि यस्तो निर्वाचन गरिएको अंग्रेजी माध्यम संयोजक तथा निर्वाचन संयोजक रविन श्रेष्ठले बताउनु भयो । विद्यालयमा नेपाली माध्यम, अंग्रेजी माध्यम र प्राविधिक तहका विद्यार्थीहरूले उत्साहजनक रुपमा प्रत्यक्ष चुनावमा सहभागिता जनाएका थिए । निर्वाचन आयोगले लिने निर्वाचनको झल्को दिनेगरी विद्यार्थीहरू सकृय रुपमा निर्वाचनमा सहभागी भएका हुन् । विद्यार्थीहरूले नमूना मतपत्र, चुनाव चिन्ह, प्रचारप्रसार तथा मौन अवधि सबै निर्देशनहरूको पूर्णरुपमा पालना गरेका थिए । साथै उनीहरूले कक्षा कक्षामा गई आफ्नो एजेण्डासहित आफ्नो चिन्हमा मतदानका लागि आह्वान गरेका थिए । शिक्षक अभिभावक सघं समिति सदस्य बुद्धप्रसाद दाहाल तथा गोविन्द दुलालले रिबन काटेर उद्घाटन गरेको निर्वाचन कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई शिक्षकहरूले चुनावका लागि सहजिकरण गरेका गर्नु भएको थियो ।
निर्वाचित विद्यार्थीहरूलाई टिका तथा खादासहित बधाई ज्ञापन गरिएको थियो । सो कार्यक्रमको सञ्चालन सुनिल गौतमले गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा शिक्षा विकास महाशाखाका उपसचिव गंगाधर रिमाल, शिक्षा अधिकृत रामचन्द्र खड्का तथा नायब सुब्बा राजमणि अधिकारी समेतको आतिथ्यता रहेकोमा रिमालले सामुदायिक विद्यालयमा नेतृत्व विकासको यस निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व विकासमा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने र त्यसले अपनत्व बोध गराउने भन्दै निर्वाचित सबैलाई बधाई दिनुभयो । निर्वाचित सबैलाई उनीहरूलाई आइतबार बिहानी प्रार्थनाक्रममा सपथ खुवाउने कार्यक्रम रहेको छ । कार्यक्रमको आन्तरिक व्यवस्थापन तथा निर्वाचन सम्वन्धी सबै डकुमेन्टको व्यवस्थापकीय पक्ष शिक्षक संप्रस पौडेलले गर्नुभएको थियो । कार्यक्रममा म्यादी प्रहरी जस्ता पाेशाकमा विद्यार्थीलाई नराखिएपनि स्वयम्सेवकीय भूमिकामा विद्यार्थीकै बाक्लो उपस्थिती थियो । विद्यालयको यो कार्यक्रममा कार्यरत शिक्षक तथा कर्मचारीले उल्लेख्य भूमिका निर्वाह गरेका थिए । औपचारिक कार्यक्रममा सहायक प्रअ रामआशिष मण्डल, ११/१२ संयोजक कल्याणकृष्ण प्याकुर्‍याल, मावि तह संयोजक नीर बहादुर खड्का, रविन श्रेष्ठ, प्राथमिक तह संयोजक केपि अधिकारी, व्यवस्थापन समिति शिक्षक प्रतिनिधि बिष्णुहरी गौतम लगायतको सहभागिता रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.