जनप्रिय मावि हेटौंडा १६ मा अध्ययन गर्ने ०४९ सालका पूर्व विद्यार्थीहरुले जनप्रिय माविलाई आज पानी छान्ने उपकरण र जार सहयोग गरेका छन् । सहयोग सानो भएपनि यसले सबै पूर्व विद्यार्थी र दाताहरुलाई समेत सकरात्मक सन्देश दिने उनिहरुको भनाइ रहेको छ ।
कार्यक्रमका बीच ०४९ सालका पूर्व विद्यार्थीहरुको यो समूहले प्रत्येक वर्ष ५ जना बिपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रबृत्ति समेत प्रदान गर्ने घोषणा गरेका छन् । आफू पढ्दाका बखत विद्यालय चल्न नै मुश्किल रहेको र पढ्न चाहना हुनेले पनि नपाउने अवस्था स्मरण गर्दै त्यस्तो अवस्था कसैमा नआओस् भन्दै उनिहरुले यस्तो घोषणा गरेको पूर्व विद्यार्थी प्रल्हाद घिमिरेले बताए । जनप्रिय माविको आफूहरु एस एल सी प्रथम ब्याच रहेको र हालसम्म २० औं ब्याच चलिरहेकोले एउटा ब्याचले ५ जना मात्रै सहयोग गरेपनि १ सय जना विपन्न विद्यार्थीले निशुल्क पढ्न पाउने उनिहरुको तर्क छ ।
यता प्रमूख अतिथि वडा नं १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाले जनप्रिय मावि अव हटियावासीको मात्रै नभएर देशकै उत्कृष्ठ शैक्षिक गन्तब्य भएकोले सबैलाई जुटेर लाग्न आग्रह गर्नुभयो । स्थानीय सरकारका तर्फबाट विद्यालयलाई गर्नुपर्ने सहयोगमा कुनै कसर आफूले बाँकी नराखेको समेत वहाँले प्रष्ट पार्नुभयो । विशेष अतिथी विव्यस अध्यक्ष रमेशप्रसाद खतिवडाले भने देशका करिव ४३ जिल्लाबाट विद्यार्थी पढ्न आउने जनप्रिय माविलाई साच्चै जनप्रिय बनाउन यस्ता सहयोगी हातहरुको उत्तिकै खाँचो रहेकोले पूर्व विद्यार्थी समूहलाई धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रममा जनप्रिय माविले देशमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको जनप्रिय सञ्चार कक्षको अवलोकन समेत गरिएको थियो । अवलोकन पश्चात प्रमूख अतिथि कोईरालाले सञ्चार कक्षलाई अझै व्यवस्थित बनाउन आवश्यक सुझाव समेत प्रदान गर्नुभएको व्यवस्थापन समिति अध्यक्ष रमेशप्रसाद खतिवडाले बताउनुभयो ।
हेटौटा नगरपालिका वडा नं १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको कार्यक्रममा पूर्व विद्यार्थी उमा रेग्मीको अध्यक्षता रहेको थियो । पूर्व विद्यार्थी गोविन्द दाहालको संयोजकत्वमा प्रल्हाद घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष रामकृष्ण तिवारी, प्रधानाध्यापक नमराज अर्याल, सहायक रामआशिष मण्डल, श्रीराम खतिवडा, अर्जुन प्रसाद वाग्ले, डा विजय नेपाल, गुञ्ज बहादुर न्यौपाने,बुद्द प्रसाद दाहाल, भरत प्रसाद ढकाल, लक्ष्मी श्रेष्ठ,गुणा रानामगर लगायतको उपस्थिति रहेको थियो ।
