शिक्षाका तमाम मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन निर्णायक शैक्षिक आन्दोलनको तयारी तीब्र पारिएको शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले आयोजना गरेको आसन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै तुलाधरले यस्तो बताउनुभएको हो ।
२०२८ सालमा बनेको पञ्चायतकालिन शिक्षा ऐनले लोकतान्त्रिक शिक्षाको धज्जी उडाएको भन्दै सरकार र राजनीतिकर्मीहरुले आम नेपाली शिक्षकहरुलाई धोका दिएको समेत उहाले आरोप लगाउनुभयो । अब शिक्षकका तमाम मुद्दाहरुलाई संवोधन गर्न नयाँ संघीय शिक्षा ऐनको विकल्प नरहेको र त्यसलाई प्राप्त गर्न निर्णायक आन्दोलनमै जाने उहाँले जिकिर गर्नुभएको हो । कार्यक्रममा बक्ताहरुले राखेका समसामयिक शैक्षिक मुद्दाहरुमाथि तुलाधरले प्रष्ट पार्नुभएको थियो ।
यता नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले राष्ट्रसेवक कर्मचारीहरु मध्येमा पनि शिक्षकहरुलाई सरकारले बिभेद गरेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । शिक्षकलाई फुटाएर सरकारले राजनीति गरिरहेको र विगतका संझौताहरु कागजमा मात्रै सीमित भएकोले शिक्षकका समस्याहरु ज्यूँ का त्यूँ रहेकोप्रति उहाँले महासंघमार्फत सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । राहत,अस्थायी,ईसीडि शिक्षक, विद्यालय कर्मचारी तथा स्थायी शिक्षकका समेत योथोचित मागहरु पूरा गर्नुको साटो तलवमा समेत सरकारले विभेद गरेको उहाँले आरोप लगाउनुभयो । भ्रमण काज, शिक्षक अस्पताल र शिक्षकको तहगत बढुवाका विषयमा अब शिक्षक महाँसंघले तत्काल सरकारसंग संवाद गर्नुपर्ने र माग पूरा नभए आन्दोलनमा जान समेत दाहालले महाँसंघको ध्यानाकर्षण गराउनुभयो ।
शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरको प्रमूख तथा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएकोल हो । कार्यक्रममा शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछाने, वागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । शिक्षक संगठन मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेलले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, लगायतको उपस्थिति रहेको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । संगठन मकवानपुर सचिव पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको अन्तर्क्रिया कार्यक्रममा जिल्लाभरका करिव एक सय पचास जना शिक्षकहरुको उपस्थिति रहेको थियो ।

