हेटौडामा बालश्रम निबारणको लागि स्थानीय तहको भुमिका विषयक अन्तरकृया सम्पन्न

हेटौडा उपमहानगर पालिकालाई बालश्रम मुक्त बनाउने उद्धेश्यले बालमैत्री स्थानीय शासन नगर समितिसंग बालश्रम निबारणको लागि स्थानीय तहको भुमिका बिषयक अन्तर्क्रिया  कार्यक्रम सम्पन्न भएको छ । 

हेटौडा उपमहानगर पालिका र बाल कल्याण समाज, मकवानपुरको संयुक्त आयोजना, स्वातन्त्रता अभियान र राष्ट्रिय बाल संरक्षण संजाल नेपालको समन्वय र सहकार्य तथा ग्लोबल मार्चको सहयोगमा संचाललित कार्यक्रमको सभाध्यक्षता हेटौडा उपमहानगर पालिकाको उपमेयर राजेश बानियाले गर्नु भएको थियो । कार्यक्रममा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ को बारेमा कार्यपत्र प्रस्तुत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उपसचिव अम्बिका प्रसाद अधिकारीले, बालश्रम अन्त्यका लागी यस अघि भएका प्रयासको बारेमा बाल कल्याण समाजको अध्यक्ष एवं राष्ट्रिय बाल संरक्षण संजालको केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले र बाल मैत्री स्थानीय शासन घोषणाका लागि भएका कृयाकलापको बारेमा हेटौडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णु कुमारी लामिछानेले प्रस्तुतिकरण गर्नु भएको थियो । 

नगर उपप्रमुख राजेश बानियाले हेटौडा उपमहानगरपालिकाले बालश्रम मुक्त सहित बालमैत्री नगर घोषणा गर्ने अभियानमा साथ दिने संघसस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु हुदै बाल मैत्री स्थानीय शासन नगर समितिले  सबै ५१ बटा सुचक केलाएर  ठोस कार्य गर्ने बेला आएको बताउनु भएको थियो । बालश्रम अन्त्यको लागि तयार भएको कार्य योजना अनुरुपको कार्य सबैको समन्वय र सहकार्यमा गर्न आफु कटिबद्ध रहेको बताउनु भएको थियो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का उपसचिव अम्बिका प्रसाद अधिकारीले नेपालको मौजुदा बालबालिकाको अबस्था  र बालश्रमको अवस्थाको चित्रण, दीगो विकाशमा बालश्रमको लक्ष्य, बालश्रम मुक्त समाज निर्माणको लागि नेपाल सरकारको बिद्यमान नीति, बालश्रम मुक्त स्थानीय तह घोषणा किन ?, बालश्रम मुक्त घोषणा कार्यविधि २०७७ को उद्धेश्य , यसमा भएका लक्षित समुह र सूचकको बारेमा बताउनु हुदै पालिकाको आगामी कार्ययोजना बनाउन सहजिकरण समेत गर्नु भएको थियो । 

बालश्रम मुक्त सहित बालमैत्री पालिका घोषणा गर्न पालिकाले लगानी योजना बनाउन आवश्यक रहेको बारे बताउनु हुदै बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले घोषणा पश्चात पनि दिगोपनको लागि लगानी कार्य योजना नभए पुन बालश्रमिक देखिन सक्ने बारे बताउनु भएको थियो ।   

बाल मैत्री स्थानीय शासन नगर समितिले हेटौडा उपमहानगर पालिकालाइ बाल श्रम मुक्त गर्न को लागि कार्ययोजना बनाएकोमा अब यस बमोजिम कार्य गर्ने र यसको लागि सबै महाशाखा र वडा अध्यक्ष ज्युहरु को साथ र सहयोग आवश्यक रहेका बारे महिला तथा बालबालिका  महाशाखा प्रमुख बिष्णु कुमारी लामिछानेले बताउनु भएको थियो । 

कार्यक्रममा वडा अध्यक्ष सबिन न्यौपाने, फुर्वा दोर्जे लामा, बिद्यालय प्रतिनिधि बिनोद सुबेदी, पत्रकार अशिष दुलाल, कापा सदस्य साधना श्रेष्ठ लगायतले समाजमा ठुला भनिएका ब्यक्तिले नै बालश्रम को पक्ष पोषण गरेको मा दुखेसो ब्यक्त गर्नु हुदै बालश्रम अन्त्य संभब छ तर कठिन भएकोले कार्ययोजना अनुरुप को कार्यको लागि सहकार्यको आवश्यक रहेको बताउनु भएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.